सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले जनकपुरधामको सोनारपट्टीस्थित सुनचाँदी पसलमा शुक्रबार राति प्रहरीले गरेको छापा क्रममा भएको विवादप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट घटनापछि शनिबार मुख्यमन्त्री सोनल अस्पताल पुगेका थिए । उनले उपचाररत अध्यक्ष भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखसँग सम्पर्क गरी घटनाको विस्तृत विवरण माग गरेका थिए । त्यसक्रममा उनले छानबिन निष्पक्ष र पारदर्शी ढंगले गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

शुक्रबार राति सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा व्यापारी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा अध्यक्ष भण्डारी घाइते भएका थिए । स्थानीय सुनचाँदी व्यवसायी पवन ठाकुरका अनुसार दिपावलीको बेला बेलुकी समयमा बिना सूचना गरिएको छापामारी व्यवसायमा हस्तक्षेप भएको महसुस भएपछि व्यापारीहरूले विरोध जनाए र त्यसक्रममा स्थिति तनावपूर्ण बनेको थियो ।
प्रहरी पक्षले भने सूचनाअनुसार निगरानीका क्रममा गएको र केही व्यापारी आक्रामक बनेपछि अवस्था नियन्त्रण गर्न बाध्य भएको दाबी गरेको छ । घाइते भण्डारीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताएका छन् ।
मुख्यमन्त्री सोनलले घटना गम्भीर भएको भन्दै सुरक्षातर्फ ध्यान दिन र व्यापारी समुदायसहित सर्वसाधारणको कानुनी सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायहरूलाई सतर्क रहन निर्देशनसमेत दिएका छन्।





