स्वास्थ्य उपकरण खरिदमा अनियमितता, अख्तियारद्वारा मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ कार्तिक २, आईतवार १३:०९

सर्लाही – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अदालतमा दायर उक्त मुद्दामा करिब १४ करोड रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

मिश्रा र अन्य आरोपीहरूमाथि स्वास्थ्य उपकरण खरिद प्रक्रिया र सम्बन्धित प्रकरणमा अनियमितता गरेको आरोप लागेको छ। मिश्रा पछिल्लो समय सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा भएकी थिइन्।

त्यसैको असरले उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर अख्तियारको अनुसन्धान जारी रहेकाले उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो। डा. मिश्राले कोशी अस्पताल र प्रसूति अस्पताल थापाथलीको प्रमुख र स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्।

विशेष रूपमा महानिर्देशक पदमा रहेकै बेला स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा उनी अनुसन्धानको दायरामा परेकी हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार