सर्लाही – ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गर्दै आज देशभर घरघरमा लक्ष्मीपूजा गरिँदैछ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन पर्ने आज कुकुर तिहार पनि मनाइँदैछ ।
‘सफा र उज्यालो घरमा मात्रै लक्ष्मी आउँछिन्’ भन्ने धार्मिक विश्वासका साथ बिहानैदेखि घर सफा गर्ने, लिपपोत गर्ने र साँझ दीपावली गरेर देवीलाई आमन्त्रण गर्ने चलन रहेको छ। घरका ढोका, झ्याल, संघार, अटारीदेखि कौसीसम्म दीपावलीको उज्यालोले झिलिमिली बनाइएको छ।

लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रातमा गरिन्छ, जसलाई सुखरात्री पनि भनिन्छ। आज साँझ गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले देवीको पाइला कोरिन्छ। आँगनदेखि पूजा कोठासम्म केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरी लक्ष्मी आउने बाटो देखाइन्छ।
पूजाको बेला धन, गरगहना, फलफूल, सेलरोटी, चामल र फूलमाला अर्पण गरी देवी लक्ष्मीको आराधना गरिन्छ। पूजापछि कन्या बालिका र छोरीहरूलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने प्रचलन छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार पूजापछि घरभित्रको सम्पत्ति वा धन बाहिर पठाउन नहुने विश्वास रहिआएको छ।
लक्ष्मीपूजाको रात मध्यराततिर महिलाहरूले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी बसोस्’ भन्ने कामना गर्ने प्रचलन पनि छ।
यसै दिन साँझ युवतीहरू समूह बनाएर भैलो खेल्ने परम्परा पनि रहिआएको छ। भगवान् विष्णुको वरदानअनुसार बलिराजाले तीनै लोकको शासन गर्दा भलो होस् भनी भैलो गाउने परम्परा सुरु भएको जनविश्वास छ। भैलो खेल्न आउनेलाई धान, पैसा, फूलमाला र सेलरोटी दिए पुण्य प्राप्त हुने मान्यता छ।
शहर बजारमा आज रात दीपावलीको झिलिमिली दृश्य देखिने अपेक्षा गरिएको छ। कतिपय ठाउँमा परम्पराअनुसार बिहानै गाईको पूजा पनि गरिन्छ।
कुकुर तिहार आजै मनाइँदै
यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार पनि आजै परेको छ। धर्मशास्त्रविद्हरूका अनुसार चतुर्दशी सूर्योदयमा परेको दिन नै कुकुर तिहार मनाउनुपर्ने भएकाले यस वर्ष तेस्रो दिन परेको हो।
प्रा. तोयराज नेपालका अनुसार कुकुर तिहारमा कुकुरलाई मालामा सजाएर मीठा परिकार खान दिइन्छ। यमराजका ढोकामा द्वारपालका रूपमा रहेका श्याम र सबल नामक कुकुरले यमलोक जाने आत्मालाई बाटो देखाउने विश्वासका कारण यो पर्व मनाइने गरिएको हो।
महाभारतका पात्र धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने कुकुरको कथा पनि यस पर्वसँग जोडिएको छ। आज कुकुरलाई निष्ठावान् र घरपालुवा सुरक्षाकर्मीका रूपमा सम्मान गरिन्छ।
नरक चतुर्दशी
आज बिहान अरुणोदयकालमा नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बत्ती बाल्ने परम्परा पनि छ। यसरी दीप बगाउँदा मृत्युपछि नरक दर्शन गर्न नपर्ने विश्वास रहिआएको धर्मशास्त्रविद्हरू बताउँछन्।
तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा आयुर्वेदिक दृष्टिले पनि लाभदायक मानिन्छ। आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार यसरी स्नान गरेमा शरीर स्वस्थ रहन्छ र तिहार स्वास्थ्य सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण पर्व मानिन्छ।





