सर्लाही – लक्ष्मीपूजाको रात सर्लाहीका तीन स्थानमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ती घटनामा करिब दुई करोड पचास लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । लालबन्दी नगरपालिका–५ मेजरगन्जमा राति करिब साढे ११ बजे कैलाश साहको किराना गोदाममा आगो लागेको थियो ।

इँटाको एकतले भवनमा भएको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका सेनानी उमेश खड्का, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारी तथा स्थानीय बासिन्दा खटिएका थिए।
नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार किराना गोदाममा झण्डै दुई करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । मैनबत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ ।
त्यस्तै, कविलासी नगरपालिका–१ पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगो सल्किँदा घर र सरसामान जलेर करिब चार लाख ३० हजार रुपैयाँको क्षति भएको छ ।
यस्तै, चक्रघट्टा गाउँपालिका – ५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर लागेको आगोले कपडा, पंखा र नगद जलेर करिब ५० हजार रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ ।





