ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

२०८२ कार्तिक ४, मंगलवार १४:०७

काठमाडौँ – जापानको राजनीतिमा नयाँ इतिहास रच्दै साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। हालै लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई जापानको तल्लो सदनले प्रधानमन्त्रीका रूपमा चयन गरेको हो।

४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि आवश्यक २३३ मतभन्दा बढी २३७ मत हासिल गर्दै उनले विजय सुनिश्चित गरेकी थिइन्। मतदान अघि उनले जापान इनोभेसन पार्टी (जेआइपी) सँग गठबन्धन गर्ने सहमति गरेकी थिइन्, जसको तल्लो सदनमा ४१ सिट रहेको छ।

त्यस्तै, २४७ सदस्यीय उपल्लो सदनमा पनि ताकाइचीले १२५ मत प्राप्त गर्दै स्पष्ट बहुमत कायम गरेकी छन्। यससँगै जापानको राजनीतिक इतिहासमा पहिलोपटक कुनै महिला प्रधानमन्त्री बनेकी हुन्।

६४ वर्षीया ताकाइची दक्षिणपन्थी र रूढिवादी सोचकी नेताको रूपमा चिनिन्छिन्। उनी पूर्व प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारी बनेकी हुन्, जसले सेप्टेम्बर २०२४ मा आर्थिक चुनौती र मुद्रास्फीति नियन्त्रणमा असफलतापछि राजीनामा दिएका थिए।

इशिबाको नेतृत्वमा रहेको एलडिपी–कोमेइतो गठबन्धनले २०२४ को अक्टोबरमा तल्लो सदन र २०२५ को जुलाईमा माथिल्लो सदन दुबैमा बहुमत गुमाएपछि पार्टीको नेतृत्व परिवर्तन भएको थियो। त्यसपछि ताकाइचीले जिम्मेवारी सम्हाल्दै जापानको इतिहासमा नयाँ अध्याय सुरु गरेकी हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार