भारतीय राष्ट्रपति मुर्मुको सुरक्षामा त्रुटी, हेलिकप्टर अवतरण गर्दा जमिनमा भाँसियो

२०८२ कार्तिक ५, बुधबार १७:२५

सर्लाही – भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सुरक्षासँग सम्बन्धित एक गम्भीर त्रुटि सार्वजनिक भएको छ। केरलाको प्रमादमस्थित राजीव गान्धी इन्डोर स्टेडियममा बुधबार बिहान हेलिकप्टर अवतरण गर्ने क्रममा राष्ट्रपति सवार हेलिकप्टर जमिनमै भाँसिएको हो।

सबरीमाला मन्दिरको दर्शनका लागि यात्रा गर्दै गरेकी राष्ट्रपति मुर्मुलाई लैजाने वायुसेनाको हेलिकप्टर नयाँ बनाइएको कंक्रीट हेलिप्याडमा अवतरण गर्ने क्रममा खाल्डोमा फसेको भारतीय मिडियाले उल्लेख गरेका छन्। अवतरणपछि उनी सुरक्षित रूपमा हेलिकप्टरबाट ओर्लिएकी थिइन् र त्यसपछि सडकमार्ग हुँदै पम्बातर्फ प्रस्थान गरेकी थिइन्।

घटनापछि सुरक्षाकर्मी र अग्निनियन्त्रकहरूले तत्काल हेलिप्याड वरिपरि निरीक्षण गर्दै हेलिकप्टरका पाङ्ग्रा अड्किएको भाग हटाउने प्रयास गरेका थिए। स्थानीय प्रशासनका अनुसार उक्त हेलिप्याड अन्तिम क्षणमा मात्र तयार पारिएको थियो। मंगलबार राति निर्माण सुरु गरिएको कंक्रीटको सतह पर्याप्त रूपमा सुक्न नपाएकाले हेलिकप्टरको तौलले जमिन धान्न नसकेर भाँसिएको जनाइएको छ।

राष्ट्रपति मुर्मु हाल दक्षिण भारतका विभिन्न राज्यको चारदिने भ्रमणमा छिन्। उनको हेलिकप्टर मूल रूपमा निलक्कल क्षेत्रमा अवतरण गर्ने योजना थियो, तर खराब मौसमका कारण प्रमादममा ल्याइएको बताइएको छ।

सुदैवले कुनै मानवीय क्षति नभए पनि, यो घटनालाई भारतीय राष्ट्रपति सुरक्षासम्बन्धी गम्भीर लापरबाहीका रूपमा लिइएको छ। राष्ट्रपति मुर्मु मंगलबार साँझ तिरुवनन्तपुरम आइपुगेकी थिइन् र बुधबार बिहान पथनमथिट्टा जिल्लास्थित सबरीमाला मन्दिरतर्फ प्रस्थान गरेकी थिइन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार