माओवादी केन्द्रका संयोजक प्रचण्डले भने : माओवादी बाहेकले जेन-जीका मागहरू पूरा गर्दैनन्

२०८२ कार्तिक ५, बुधबार १९:५८
फाईल तस्बिर

सर्लाही – नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको हित र रूपान्तरणको यात्रामा माओवादी केन्द्र नै मुख्य विकल्प भएको बताएका छन्।

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा बुधबार आयोजित शुभकामना आदान–प्रदान तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देश बचाउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।

“म अध्यक्ष भएर बसिरहनै पर्छ भन्ने मेरो इच्छा होइन,” उनले भने, “तर राष्ट्र बचाउनु अहिलेको प्रमुख दायित्व हो। आवश्यक परे म कुनै पनि त्याग गर्न तयार छु, तर जिम्मेवारीबाट कहिल्यै पछि हट्दिन।”

प्रचण्डले अहिलेको राष्ट्रिय परिस्थिति गम्भीर रहेको भन्दै त्यसलाई निकास दिन माओवादी केन्द्रले नेतृत्व लिनुपर्ने बताए। उनका अनुसार जनयुद्ध र जनआन्दोलनका समयमा जेनजी पुस्ता अग्रमोर्चामा थियो भने अहिले पुनः त्यही पुस्ता रूपान्तरणको यात्रामा माओवादीसँग एक भएको ऐतिहासिक क्षण हो।

“मधेसमा पहिलो पटक ६०५ जना जेनजी युवाहरूले माओवादी केन्द्रमा प्रवेश गर्नु एउटा नयाँ युगको सुरुवात हो,” प्रचण्डले भने। “अब जेनजी र माओवादी मिलेर अगामी चुनावमा निर्णायक भूमिकासहित अघि बढ्नेछन्।”

उनले अरू कुनै दलले जेनजीका माग र आकांक्षाहरू पूरा गर्न नसक्ने दाबी गर्दै भने, “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्ने शक्ति माओवादी केन्द्र मात्र हो।”

देश संकटमा रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति र एकताको आवश्यकता औँल्याए। कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ६ सयभन्दा बढी युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार