सर्लाही – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सर्लाहीका एकसहित तीन जनालाई पक्राउ गरेको छ।
गत कात्तिक ३ गते साँझ सातदोबाटोबाट आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीमाथि अपरिचित व्यक्तिहरूले आक्रमण गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकामध्ये काभ्रेका कोकिलबहादुर शाह, रामेछापको गेलु घर भएका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाहीका ३५ वर्षीय हेम तामाङ रहेका छन्।
अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गए राति शाह र सिर्जन अधिकारीलाई पक्राउ गरेको थियो भने प्रहरी वृत्त सातदोबाटोबाट खटिएको अर्को टोलीले सर्लाहीका हेम तामाङलाई नियन्त्रणमा लिएको हो।
तीनै जनालाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महानिर्देशक अधिकारीमाथि आक्रमण भएपछि उनले तत्कालै सुरक्षा निकायलाई जानकारी गराएका थिए, जसको आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको हो।





