सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनललाई संवैधानिक प्रावधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
मुख्यमन्त्री सोनलका अनुसार चाडपर्वको कारण औपचारिक प्रक्रिया केही ढिलाइ भएको हो। “छठ सकिएपछि विश्वासको मत लिने तयारीमा छौं, कुनै समस्या छैन,” उनले बताए।

सोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
यी पाँच दलका मिलेर १०७ सदस्यीय प्रदेशसभामा ५७ सांसद छन्, जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७। बहुमतका लागि ५४ मत आवश्यक पर्छ।
तर, जनमत पार्टीका दुई सांसद ( पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह र त्रिभुवन साह ) जनस्वराज पार्टीमा सनाखत भइसकेका छन्। यद्यपि निर्वाचन आयोगको निर्णयमाथि सर्वोच्च अदालतले रोक लगाएकोले उनीहरू हालसम्म जनमत पार्टीकै ह्वीपमा रहनेछन्।
त्यसैगरी, जसपाका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएकाले विश्वासको मतमा सहभागी हुन पाउँदैनन्। यस्तो अवस्थामा जनमतका दुई सांसदले मत नदिएमा सोनललाई समर्थन गर्ने सांसद संख्या ५४ मा झर्न सक्छ।





