मधेशमा छठ पर्वमा विशेष सुरक्षा योजना: आठ वटा जिल्लामा ७ हजार प्रहरी परिचालन

२०८२ कार्तिक ७, शुक्रबार २१:१३
file image

सर्लाही – छठ पर्व नजिकिँदै गर्दा मधेस प्रदेशमा सुरक्षालाई प्राथमिकता दिँदै प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीक यो पर्व शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यसहित प्रहरी प्रशासन पूर्ण सतर्कतामा रहेको छ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश प्रहरीका नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले पर्वका बेला सम्भावित दुर्घटना, झैझगडा र मादक पदार्थ सेवनजस्ता घटनाहरू रोक्न विशेष तयारी गरिएको जानकारी दिए।

उनले भने, “छठ धार्मिक श्रद्धा र आस्थासँग जोडिएको पर्व हो, त्यसैले यसमा कुनै पनि अवाञ्छित घटना नहोस् भनेर प्रहरी तैनाथी र निगरानी दुवै बढाइएको छ।” प्रदेशका आठवटै जिल्लामा करिब ७ हजार प्रहरी खटाइएको छ। यसमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल गस्ती टोली र नागरिक पोसाकका सुरक्षाकर्मी समेत सहभागी हुनेछन्।

डीआईजी थपलियाका अनुसार घाट, तालाब, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गहरूमा निगरानी कडा पारिएको छ। भिडभाड हुने स्थानहरूमा सिसी क्यामेरा, मोबाइल गस्ती र अस्थायी सुरक्षा चौकी स्थापना गरेर सुरक्षा सञ्जाल मजबुत बनाइएको छ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने वा भीडभाडमा अव्यवस्था सिर्जना गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिएको छ। थपलियाले जनाए, “छठ केवल उत्सव होइन, यो आस्था र विश्वासको प्रतीक हो, त्यसैले प्रहरीको ध्यान जनताको श्रद्धा र सुरक्षामा केन्द्रित रहनेछ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार