पवन उपाध्याय, रौतहट – नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यसँगै स्थानीय क्षेत्रमा सचेतना फैलाउने र वातावरणीय सरसफाईमा योगदान दिने काम निरन्तर रूपमा गर्दै आएको छ। यही क्रममा हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा रौतहटको मध्यभागमा अवस्थित गरुडा नगरपालिका – ४ अन्तर्गत चाँदी नदीस्थित छठघाटमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रम इलाका प्रहरी कार्यालय गरुडाको आयोजनामा गरिएको हो। सरसफाई कार्यक्रममा प्रहरी जवानहरूसँगै अस्थायी ट्राफिक प्रहरी पोस्ट गरुडा, स्थानीय बासिन्दा र युवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले घाट वरपरको फोहर संकलन गरी सफा गर्दै श्रद्धालुहरूका लागि सुरक्षित र स्वच्छ वातावरण तयार पारेका थिए।

छठ पर्वमा व्रतधारी तथा भक्तजनहरूको ठूलो भीड हुने भएकाले प्रहरीको पहलमा गरिएको यो सरसफाई अभियानलाई स्थानीयहरूले उच्च प्रशंसा गरेका छन्। इलाका प्रहरी कार्यालय गरुडाले शिवनगरधामसहित अन्य छठघाटहरूमा समेत सरसफाई कार्य गरेको प्रहरीले जानकारी दिएको छ।
छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व
तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व सूर्य उपासना र छठी माताको आराधनासँग सम्बन्धित छ। कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने यो पर्व चार दिनसम्म मनाइन्छ। सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ। यो पर्व सत्य, अहिंसा र सहानुभूतिको प्रतीकका रूपमा मनाइन्छ।
सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्तिको कामना गर्दै भक्तजनहरू सूर्य देव र छठी माताको पूजा गर्छन्। कात्तिक शुक्ल पञ्चमीलाई उत्तम तिथि मानिएकाले यो पर्व सोही दिन विशेष रूपमा मनाइन्छ।
छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुइ पटक मनाउने गरिन्छ । छठपूजामा सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घदिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।
त्यसैगरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । छठ पर्वमा व्रत गरे सन्तान प्राप्त, दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मीक जनविश्वास रही आएको देखिन्छ ।
तराईको महत्वपूर्ण पर्वको रुपमा मानिएको छठ पर्व विभिन्न नदी तथा तलाउ एवं पोखरीको डिलमा मनाउने गरिन्छ । नदी तलाउको डिलमा सूर्यलाई अर्घ दिन ल्याइएका विभिन्न परिकारसहितका फलफूल प्रसादको रुपमा घाटमा राख्ने र व्रतालु समेत बस्ने गरेका छन् ।
रौतहटको अधिकांश छठघाटहरू सामान्य समयमा फोहोर हुने भएकाले पर्वको बेला श्रद्धालुहरू नै घाट सरसफाईमा जुट्ने गर्छन्। यस वर्ष प्रहरी र स्थानीयको संयुक्त प्रयासमा गरुडा क्षेत्रमा सरसफाई अभियानले थप प्रेरणा र सन्देश दिएको स्थानीयले बताएका छन्।





