सर्लाहीका तीन पालिकामा निमित्त प्रशासकको हस्ताक्षर अमान्य, खातासमेत रोक्का

२०८२ कार्तिक ८, शनिबार १६:१९

सर्लाही – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको नयाँ निर्देशनसँगै सर्लाही जिल्लाका तीन स्थानीय तहको आर्थिक कारोबार तत्कालका लागि रोकिएको छ। मन्त्रालयले मलङ्गवा नगरपालिका, विष्णु गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको हस्ताक्षर अमान्य ठहर गर्दै ती पालिकाका खाता रोक्का गर्न औपचारिक पत्र पठाएको हो।

कोष तथा लेखा नियन्त्रक कार्यालय ( कोलेनिका ) का अनुसार मन्त्रालयको निर्देशनपछि ती पालिकाबाट अब कुनै पनि रकम निकासा गर्न नपाइने स्पष्ट आदेश आएको छ। मन्त्रालयको पत्रमा ती पालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतका हस्ताक्षर तत्कालका लागि नचल्ने र खाता सञ्चालनमा रोक लगाउन भनिएको छ।

हाल मलङ्गवा नगरपालिकामा शिक्षातर्फका उपसचिव होमनाथ सुवेदी, विष्णु गाउँपालिकामा स्वास्थ्य शाखाका सञ्जिव सापकोटा र ब्रह्मपुरी गाउँपालिकामा स्वास्थ्य शाखाका उपेन्द्र राउत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

मन्त्रालयले यिनै पालिकामा दरबन्दी अनुसारका स्थायी प्रमुख प्रशासकीय अधिकृतहरू नियुक्त गरेर पठाउँदा पनि स्थानीय स्तरमा हाजिर हुन नदिई पुरानै निमित्त अधिकृतकै भरमा प्रशासनिक कामकाज चलाउने प्रवृत्ति दोहोरिँदै आएको बताइन्छ।

सामान्य प्रशासन मन्त्रालयले यसपटक त्यसै प्रवृत्तिलाई नियन्त्रण गर्न कठोर कदम चालेको हो। मन्त्रालयका अनुसार निर्धारित दरबन्दी अनुसारका अधिकृतहरूलाई पालिकाले हाजिर गराउनुपर्ने र स्थानीय तहले कानूनी प्रावधान अनुसार मात्रै आर्थिक कारोबार सञ्चालन गर्न सक्नेछन्।

यसबीच सर्लाहीका २० स्थानीय तहमध्ये बसबरिया गाउँपालिका मात्रै यस्तो छ, जहाँ चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन सकेको छैन। गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारीबीच बजेट बाँडफाँडका विषयमा लामो समयदेखि विवाद भइरहेकाले पालिकाको नियमित काम ठप्प भएको छ।

बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउन महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् भने विकास निर्माणका काम पनि ठप्प छन्। कोलेनिकाका अनुसार बसबरियाबाहेकका सबै १९ पालिकाले चालु आर्थिक वर्षको तलब, भत्ता तथा प्रशासनिक खर्चका रकम निकासा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार