मलंगवा – आस्थाको, अनुशासनको र आत्मसमर्पणको प्रतीक छठ पर्व सर्लाहीमा यस वर्ष पनि अत्यन्त श्रद्धा र उल्लासका साथ सम्पन्न भएको छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालुहरूले चार दिने यो महान पर्व विधिपूर्वक सम्पन्न गरेका हुन्।
बिहान सबेरैदेखि नै जिल्लाभरका नदी, तलाउ, पोखरी र छठ घाटहरूमा हजारौं भक्तजनहरूको घुइँचो लागेको थियो। महिलाहरू पारम्परिक पहिरनमा सुसज्जित भएर सूर्यदेव र छठी मइयाको आराधनामा तल्लीन देखिन्थे। बालबालिका र वृद्धदेखि युवा पुस्तासम्म सबैको सहभागिताले सर्लाहीका घाटहरू आज धार्मिक उमंग र रौनकले भरिएका थिए।

चार दिन लामो यो पर्व शनिबारको ‘नहाय–खाय’ विधिबाट सुरु भई आइतबारको ‘खरना’, सोमबार साँझको अस्ताउँदो सूर्य अर्घ्य र अन्ततः आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको हो। व्रतालुहरूले ३२ घण्टा लामो निर्जला उपवास पूरा गर्दै सूर्यदेवप्रति आस्था, कृतज्ञता र जीवनप्रतिको सम्मान व्यक्त गरे।
सर्लाहीको मलंगवा, हरिपुर, हरिवन, ईश्वरपुर, लालबन्दी, गोडैता, धनकौल, बलरा लगायत जिल्लाका विभिन्न स्थानका छठ घाटहरू आकर्षक रूपमा सजाइएका थिए। बत्ती र रंगीन कपडाले सिँगारिएका घाटहरू साँझपख दिपावलीसरह झलमलाएका थिए।
जिल्लाको दक्षिणवर्ती क्षेत्रमा मात्रै मनाइने छठपर्व पछिल्ला वर्षहरुमा सबै भेगमा मनाउन थालिएको छ । यसबर्ष चुरेवर्ती भेगमा समेत हर्षोउल्लासपूर्वक पर्व मनाईएको छ।
सूर्यदेवप्रतिको आराधनासँगै सम्पन्न भएको यस पर्वले सर्लाहीमा धार्मिक उत्साह, पारिवारिक एकता र सामाजिक समरसताको सन्देश फैलाएको छ। श्रद्धा, संयम र समर्पणको अनोठो मिश्रणका साथ मनाइने छठ पर्वले यसपटक पनि हजारौं भक्तजनको आस्थालाई एकै सूत्रमा बाँध्न सफल भएको छ।





