सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत लिने तयारीलाई तीव्र बनाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग महत्वपूर्ण भेटवार्ता गरेका छन्।
बाराको कलैयामा भएको सो भेटमा दुबै नेताबीच हालको प्रदेशको राजनीतिक समीकरण, सरकारको कार्यदिशा तथा आगामी राजनीतिक सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइन्छ।

छठ पर्व सम्पन्न भएसँगै प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री सोनलका लागि यादवसँगको भेटलाई निर्णायक कूटनीतिक संवादका रूपमा हेरिएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराका अनुसार भेटलाई मधेश प्रदेशको सरकार स्थायित्व र भविष्यका सत्ता समीकरणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। लोसपाका नेताहरूले विश्वासको मतका लागि आवश्यक राजनीतिक समन्वय र समर्थनका सम्भावनाबारे पनि छलफल भएको बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो भेट प्रदेशको आगामी सत्ता संरचना र दलगत सहकार्यको दिशा तय गर्ने संकेतका रूपमा आएको हो। उनीहरूका अनुसार सोनलको सरकारलाई समर्थन गर्ने दलहरूबीचको सम्बन्ध सुदृढ पार्ने प्रयास यस भेटको मुख्य उद्देश्य हो।
मुख्यमन्त्री सोनलले जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार गठन गरेका हुन्। संविधान अनुसार नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।





