सर्लाही – सिराहाको लहान नगरपालिका – ५ खुट्टीखोलामा चोरीको आरोपमा भएको कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान पर्तीटोलमा स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुन कुटपिटबाट घाइते भइ स्थानीयले उनलाई लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरार प्रादेशिक अस्पतालमा पुर्याएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

अहिले मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। प्रहरीले घटनामा संलग्न तीन महिला र एक पुरुष गरी चार जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार नुरजहाँ खातुन खुट्टीखोलाको छठ घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन्।
एक युवकले पसलबाट सामान चोरी गरेको आरोपपछि उनले युवकका हजुरबालाई गुनासो गरेकि थिइन्, त्यसपछि युवकका परिवारका सदस्यहरूले नुरजहाँ खातुनलाई कुटपिट गरेका हुन्।
उनीहरुले ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै कुटपिट गरेका थिए। घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।





