९८ करोड ठगी प्रकरणमा प्रभु ग्रुपका अध्यक्ष तथा पूर्वसांसद भट्टचन पक्राउ

२०८२ कार्तिक १२, बुधबार ०८:५५

सर्लाही – नेकपा (एमाले) का पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई मंगलबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

सिआईबीका अनुसार भट्टचनमाथि प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक अनियमितता र ठगीको गम्भीर आरोप छ। सोही आरोपको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले करिब ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना तथा ठगी गरेको आरोप लगाउँदै एक वर्षअघि नै उजुरी दर्ता गरेकी थिइन्।

लामाका अनुसार सुरुवाती चरणमा विभिन्न प्रहरी कार्यालयहरूले उजुरी लिन अस्वीकार गरेपछि उनले सरकारी वकिलको कार्यालयमार्फत २०८१ असोज ११ गते जाहेरी दर्ता गराएकी थिइन्।

त्यसपछि सो मुद्दा अनुसन्धानका लागि प्रहरीमा पठाइए पनि, भट्टचन तत्कालीन सत्तारूढ दलका सांसद रहेकाले अनुसन्धान अघि बढ्न नसकेको बताइन्छ।सिआईबीले भट्टचनमाथि आरोपित आर्थिक हिनामिनाको विषयमा विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार