देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधान गर्न वामशक्तिबीच ध्रुवीकरण आवश्यक छ : अध्यक्ष नेपाल

२०८२ कार्तिक १२, बुधबार १५:५९
file image

सर्लाही – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा उत्पन्न संवैधानिक सङ्कट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण र सहकार्य आवश्यक रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले हाल देश गम्भीर संवैधानिक र राजनीतिक अनिश्चितताबाट गुज्रिरहेको भन्दै त्यसको समाधानका लागि सिद्धान्तमा निष्ठावान र जनमुखी वामशक्तिबीच एकता अपरिहार्य भएको बताएका हुन्।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनभित्र फैलिएका विकृति र विसङ्गति हटाउन नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै जनताप्रति उत्तरदायी र सिद्धान्तनिष्ठ नेतृत्व मात्रै वामराजनीतिको भविष्य सुनिश्चित गर्न सक्ने बताए।

उनका अनुसार वर्तमान राजनीतिक संकटको समाधान चुनावमार्फत मात्रै सम्भव भएकाले सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर निष्पक्ष निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा अझै कायम रहेको बताउँदै जनताको पक्षमा राजनीति केन्द्रित गर्न वामपन्थी दलहरू जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताए।

पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीमा २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी दिए। साथै सुशासन, रोजगारी र जनसेवा सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा समेत राखे।

तीन दिनसम्म चल्ने बैठकमा वामपन्थी एकता र सहकार्यका विषयमा देखिएका मतभिन्नता, आन्तरिक विवाद र संगठन पुनर्गठनसम्बन्धी विषयमा निर्णायक छलफल हुने पार्टीका पोलिटब्यूरो सदस्य ताजमोहम्मद मियाँले जानकारी दिए।

उनका अनुसार बैठकमा जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्धका मुद्दालाई सम्बोधन गर्न विभिन्न कार्यक्रम र अभियान तय गरिनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार