कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

२०८२ कार्तिक १२, बुधबार १७:५६

सर्लाही – तराई मधेसलाई जोड्ने ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्षदेखि अधुरो छ । विसं २०६८ मा सुरु गरिएको पुल निर्माण कार्य अहिले पनि अलपत्र रहँदा स्थानीयवासी अस्थायी काठे पुलमा आवतजावत गर्न बाध्य छन् ।

नदी तर्नका लागि स्थानीय युवाको पहलमा निर्माण गरिएको सो काठे पुल प्रयोग गर्दा प्रतिव्यक्ति २० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । पहिले सय रुपैयाँसम्म असुल्ने प्रथा रोक्न सिराहा नगरपालिकाको समन्वयमा अहिले २० रुपैयाँ कायम गरिएको छ।

नगरपालिकाका अनुसार नगरपालिकाले ठेक्का दिएको होइन । “स्थानीय युवाले स्वेच्छिक रूपमा पुल बनाएका हुन् । त्यसको मर्मत खर्चका लागि २० रुपैयाँ लिने अनुमति मात्र नगरले दिएको हो,” प्रशासकीय अधिकृत बलिराम यादवले भने ।

तर, स्थानीयवासीहरू भने शुल्क असुलीप्रति असन्तुष्ट छन् । दैनिक लाखौँ रुपैयाँ उठिरहेको दाबी गर्दै स्थानीय दिनेश यादव भन्छन्, “जनताबाट शुल्क लिने कानुनी अधिकार नगरपालिकासँग छैन । यस्तो असुली गैरकानुनी छ । सङ्कलित रकम पारदर्शी हुनुपर्छ र नदी तर्ने व्यवस्था निःशुल्क हुनुपर्छ ।”

हरेक वर्ष वर्षा सुरु हुनासाथ बाढीले काठे पुल बगाउँछ । बाढी घटेपछि पुनः स्थानीयले पुल पुनर्निर्माण गर्नुपर्छ । यस क्रममा जोखिमपूर्ण डुङ्गा यात्राको विकल्पमा जनता निर्भर रहँदै आएका छन् ।

सिराहा–६ का वडाध्यक्ष इन्द्रजित यादव भन्छन्, “पुल नहुँदा सिराहा, धनुषा र सप्तरीका नागरिकलाई जनकपुर पुग्न भारतीय बजार जयनगरमार्ग वा मिर्चैया–ढल्केवर हुँदै करिब तीन घण्टा बढी समय खर्च गर्नुपर्छ ।”

पुल निर्माण विसं २०६८ मा सुरु भई तीन वर्षमै सम्पन्न गर्ने सम्झौता गरिएको थियो । तर ठेकेदारको लापरबाहीले पटक पटक म्याद थपिँदै गए पनि काम पूरा हुन सकेन । “पहिले पप्पु कन्स्ट्रक्सनले काम अलपत्र पारेपछि कालोसूचीमा पर्‍यो । पछि लुम्बिनी बिल्डर्सले जिम्मा लिएको थियो ।

तर चार वर्षअघि आएको बाढीले पुल भासिएपछि निर्माण कार्य पुनः ठप्प भयो,” वडाध्यक्ष यादवले बताए । विसं २०८२ असारसम्मको अन्तिम म्याद पनि सकिएको छ । पुल कहिले बन्ने भन्ने अनिश्चितताले स्थानीयमा निराशा बढेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार