मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने

२०८२ कार्तिक १२, बुधबार २०:१३

सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले उक्त मिति तय गरेको हो।

बैठकपछि मुख्यमन्त्री सोनलले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत माग्ने तयारी पूरा भएको जानकारी दिएका छन्। उनले नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रतिपक्षी दलहरूलाई पनि समर्थनका लागि आग्रह गर्ने निर्णय भएको बताए।

सोनलको नेतृत्वमा हाल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल समावेश गठबन्धन रहेको छ। साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी पनि सत्तारूढ समूहमा आबद्ध छन्।

गत असोज २९ गते ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनललाई विश्वासको मतका लागि १०५ सदस्यीय प्रदेशसभामा ५३ मत आवश्यक छ। अहिले गठबन्धनका जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार