सर्लाही – नेपाली कांग्रेसका नेता अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल भर्ना गरिएको थियो। हाल उनी भेन्टिलेटरको सहायतामा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ।
गत जेठ महिनामा ज्यान सम्बन्धी मुद्दामा उच्च अदालत वीरगञ्जबाट सफाइ पाएपछि आलम कारागारमुक्त भएका थिए। नक्खु कारागारबाट रिहा भएको केही दिनमै उनलाई ब्रेन स्ट्रोक भएको थियो, जसपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको तयारीका क्रममा रौतहटमा बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा आलममाथि मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
तर उच्च अदालत वीरगञ्जले प्रमाण अभावका कारण उक्त फैसला उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो। हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ र अन्तिम निर्णय आउन बाँकी छ।





