मधेसका विभिन्न जिल्लाका बालबालिकाको भारतबाट उद्धार

२०८२ कार्तिक १३, बिहीबार २०:१६

सर्लाही – भारतका विभिन्न सहरबाट उद्धार गरिएका १६ बालबालिकालाई आज जनकपुरधाममा आफ्ना परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहारका विभिन्न स्थानमा पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो।

उद्धारपछि मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको उपस्थितिमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको जनाइएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका समन्वय अधिकृत सञ्जीव महतोका अनुसार उद्धार गरिएका बालबालिका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन्। उनीहरूको उमेर ९ देखि २२ वर्षबीचको रहेको छ।

त्यसैगरी ‘कीन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा थप दुई बालिकाको पनि उद्धार गरी जनकपुरस्थित बालकल्याण समिति र बालबालिका खोज तथा उद्धार केन्द्रमार्फत परिवारमा पुनःस्थापना गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार