बेमौसमी वर्षाले १० हजार हेक्टर धानबालीमा क्षति

२०८२ कार्तिक २५, मंगलवार ०८:४३
file photo

सर्लाही – बेमौसमी वर्षाले सिराहा जिल्लाका किसानको दुःख दोब्बर बनाएको छ। मोन्था चक्रवातको प्रभावमा परेको वर्षाका कारण करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा लगाइएको धानबालीमा व्यापक क्षति पुगेको प्रारम्भिक तथ्यांकले देखाएको छ।

जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिकाका कृषि शाखाबाट संकलित विवरणअनुसार लहान नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ मात्र २ हजार २३२ हेक्टर खेतमा धान नष्ट भएको छ। त्यसपछि औरही नगरपालिकामा १ हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर धानबालीमा क्षति पुगेको जनाइएको छ।

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानहरूले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बाली वर्षाको चपेटामा परेका छन्। “उन्नत जातका धान लगाउँदा राम्रो मूल्यको आशा गरेका किसान अहिले चिन्तामा छन्,” उनले भने।

पूर्व–पश्चिम लोकमार्गको दक्षिण तर्फका धेरैजसो क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिँचित भएकाले त्यहाँ उन्नत प्रजातिका धान बढी लगाइएका थिए। यही कारण ती क्षेत्रहरूमा क्षति पनि बढी भएको कृषि ज्ञान केन्द्र, सिराहाले जनाएको छ।

केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार, “पाक्ने क्रममा रहेको धानमा पानी परेकाले बोट ढलेका छन्, जसले दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ।”

सिराहामा हाल करिब ५४ हजार हेक्टरमा वर्षे धान र १ हजार ३४५ हेक्टरमा चैते धान खेती हुँदै आएको छ। गत वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रमा २ लाख २८ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको भए पनि, यो वर्ष उत्पादनमा उल्लेख्य गिरावट आउने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार