सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात राजनीतिक दलले बिहीबार पनि विरोध प्रदर्शन जारी राखेका छन्।
प्रदेशको प्रशासनिक केन्द्र मधेश भवनको मुख्य गेटअगाडि बिहानैदेखि धर्ना सुरु गरिएको हो। विरोधमा सहभागी हुने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। सांसददेखि कार्यकर्तासम्मको उपस्थितिमा धर्ना जारी छ।

मंगलबार साँझ भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको बल प्रयोगको विरोधस्वरूप सातै दलले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका थिए। जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार अदालतले दिएको अन्तरिम आदेशले आन्दोलनकारीको मागलाई वैधानिकता दिएको छ। उनका शब्दमा, “हामी कानुनी र सडक दुबै बाटोबाट आफ्नो अधिकारको लडाइँ लडिरहेका छौँ।”
७४ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमार्फत मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको छ र तत्काल खारेज गर्न माग गरिएको छ। यसबीच, मुख्यमन्त्री यादवले मंगलबार मात्र पदभार ग्रहण गरेका थिए। उनी बुधबार बिहानै काठमाडौं प्रस्थान गरेका छन् र हाल त्यहीँ रहेका छन्।





