सर्लाही – आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली संकलनको समय थप पाँच दिनका लागि लम्ब्याएको छ। अब नागरिकहरूले मंसिर ५ गतेसम्म आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्नेछन्।
पहिले सरकारले कात्तिक ३० गतेसम्म मात्र दर्ताको समय तोकेको थियो। तर देशभर देखिएको उत्साहपूर्ण सहभागितालाई ध्यानमा राख्दै आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत थप म्याद घोषणा गरेको हो।

आयोगले भनेको छ, “हालैका दिनमा मतदाता नाम दर्ता र अद्यावधिकमा जनसहभागिता उच्च भएकोले नागरिकलाई थप सहजता उपलब्ध गराउन २०८२ मंसिर ५ गतेसम्म दर्ता अवधि थप गरिएको छ।”
थपिएको अवधिभर राष्ट्रिय परिचय पत्र प्रयोग गरी वा पुरानै प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निवेदन दर्तापछि नजिकैको निर्वाचन कार्यालयमा गएर फोटो र औँठाछाप जस्ता जैविक विवरण पेश गर्नुपर्नेछ।
आयोगका अनुसार कात्तिक २७ गतेसम्म कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताले आफ्नो नाम सूचीमा समावेश गराइसकेका छन्।






