मधेश सरकार गठनविरुद्धको रिटको आज संयुक्त इजलासमा सुनुवाई हुँदै

२०८२ कार्तिक ३०, आईतवार ०८:३४

सर्लाही – मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ आज संयुक्त इजलासमा हुदैछ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मुद्दालाई संयुक्त इजलासमा पठाउने आदेश दिएको थियो।

सो अनुसार आजका लागि संयुक्त इजलास तोकिएको हो। नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोकन्तर पार्टीलगायत सात राजनीतिक दलका ७४ सांसदले संयुक्त रुपमा रिट दायर गर्दै मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए ।

यसअघि मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई ‘दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न’ आदेश जारी गरेको थियो।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रक्कीप्रसाद साह र सुजित यादवले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै यस्तो अन्तरिम आदेश दिएको हो। संयुक्त इजलासमा आज हुने सुनुवाइबाट मधेश प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण मोड आउन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार