सर्लाही – भारतको बिहार राज्यस्थित सितामढी जिल्लामा सुरक्षाकर्मीहरूले ठूलो मात्रामा लागुऔषधसहित तीन नेपालीलाई पक्राउ गरेका छन्। सोनबरसा क्षेत्र अन्तर्गत तैनाथ एसएसबी ५१ बटालियनका जवानहरूले शनिवार छुट्टाछुट्टै स्थानबाट २२ किलो गाँजा बरामद गरेका हुन्।
पक्राउ पर्नेहरूमा सर्लाही नोकैल्वाका अनुरोध कुमार, सर्लाहीकै संग्रामपुर – २ का उपेन्द्र पासवान र महोत्तरी लक्ष्मीनिया – ७ का सुकेश कुमार रहेको एसएसबीका सहायक सेना नायक पवन खराटाले जनाएका छन्।

उनका अनुसार नेपालबाट भारततर्फ लागुऔषध तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएपछि इन्दरवा बीओपीका जवानले पीलर ३१९ नजिक विशेष गस्ती थालेका थिए। गस्तीका क्रममा झोला बोकेर हिँडिरहेका व्यक्तिहरूलाई जाँच गर्दा १५ किलो गाँजा फेला परेको बताइएको छ।
त्यस्तै, नरकटिया बीओपीका सुरक्षाकर्मीले पीलर ३२२, गोगा नदी पुल नजिक शंकास्पद अवस्थामा गुडिरहेको बिना नम्बरको टीभीएस अपाचे मोटरसाइकल रोकेर सर्च गरेको थियो। मोटरसाइकलमा बाँधिएको झोलाभित्रबाट ७ किलो गाँजा बरामद भएको गरिएको छ।
बरामद गाँजा र मोटरसाइकलसहित तीनै जनालाई एसएसबीले सोनबरसा प्रहरीलाई बुझाएको छ।





