सर्लाहीमा दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

२०८२ कार्तिक ३०, आईतवार १७:३४

मलंगवा – सर्लाहीमा आइतबार भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

बिहान ब्रम्हपुरी गाउँपालिकामा र दिउँसो चन्द्रनगर गाउँपालिकामा भएको दुर्घटनामा घाइते भएका दुई जनाको बयलवासमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत राजधानी लगिएको हो।

ब्रम्हपुरी गाउँपालिका – २ धर्मपुर टोलमा बयलवासबाट मलंगवातर्फ जाँदै गरेको ना ४१ प ३३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका – ७ का २० वर्षीय उमर मिकरानी घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका उनको बयलवासमा प्राथमिक उपचारपछि अल्टिच्यूट हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

त्यस्तै, दिउँसो चन्द्रनगर गाउँपालिका – २ बिर्ता नजिक प्रदेश २–०२–००१ त २२४१ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०१३ प १९९७ नम्बरको मोटरसाइकल ठोक्किँदा चन्द्रनगर – ३ बडकुर्वाका २८ वर्षीय अक्षय कुमार सिंह कुशवाहा घाइते भएका थिए।

स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई पनि दोस्रो हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ट्याक्टर नियन्त्रणमा लीइएको छ भने चालक फरार रहेका छन्। दुवै घटनासम्बन्धि अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार