सिमरा घटना: किटानी जाहेरी परेका थप एक जना पक्राउ, अवस्था सामान्य बन्दै

२०८२ मंसिर ५, शुक्रबार ०९:२७
file image

सर्लाही – बाराको सिमरामा जेन-जी समूह र स्थानीय एमाले कार्यकर्ताबीच भएको झडपपछि तीन जनालाई पक्राउ गरिएको छ। प्रशासनले अवस्था नियन्त्रणमा रहेको र हाल कर्फ्यु लागु नभएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार बिहीबार राति ८ बजेसम्म मात्र कर्फ्यु लागू गरिएको थियो र “त्यसपछि थप आदेश जारी गरिएको छैन, अहिले स्थिति सामान्य छ,” उनले बताए।

बुधबार एमालेले आयोजना गर्न लागेको कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी हुने सूचना पाएपछि जेन-जी समूहले विरोध गरेको थियो। त्यस क्रममा स्थानीय एमाले कार्यकर्ताले जेन-जी युवामाथि कुटपिट गरेको आरोप लगाइएको छ।

यही आरोपमा एमालेबाट निर्वाचित जितपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी र जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साहलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ।

उनीहरू विरुद्ध जेनजी अगुवा साइकुस उपाध्याय ‘सम्राट’ले इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएका थिए। बुधबारको प्रदर्शनमा सिमरा विमानस्थलको गेटसमेत तोडफोड भएको थियो।

बिहीबार पनि जेन-जी समूहले पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन जारी राखेपछि प्रहरीले बल प्रयोग गर्दा केही समय झडप भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार