सर्लाही – सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको कन्चनरुप नगरपालिका–२, बरमझियामा बिहीबार राति चेकजाँच क्रममा फल्स बटम बनाइएको ट्रक भित्र लुकाइ राखिएको ९ सय ७८ किलो गाँजा फेला परेपछि गाँजासहित ट्रकका चालकलाई नियन्त्रणमा लिइएको हो।

फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको उक्त ट्रकलाई राति १०:३० बजे रोकी जाँच गर्दा २८ वटा सेतो बोरा भित्र प्लास्टिकले प्याक गरिएको गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान – १३ का २५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक काफ्लेको समन्वयमा खटिएको संयुक्त टोलीले गाँजा, ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए।





