जेन-जी आन्दोलनको क्रममा आगजनी र लुटपाट गरेको आरोपमा सर्लाहीका दुईसहित १५ जना पक्राउ

२०८२ मंसिर २२, सोमबार १७:४०
साङ्केतिक तस्बिर

सर्लाही – सिन्धुलीमा भदौ २४ गते जेनजी आन्दोलन उग्र बनेपछि सरकारी कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा सर्लाहीका दुई जनासहित १५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका–१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजार बस्ने २० वर्षीय सुजन साह,सर्लाहीकै रामनगर गाउँपालिका–६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई–१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई–४ का २४ वर्षीय सविन लामा, कमलामाई–१२ का २३ वर्षीय डोरबहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका–२ घर भई हाल सिन्धुलीको कमलामाई–५ मा बस्ने राजु महरा रहेका छन्।

यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई–८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई–८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनार, कमलामाई नगरपालिका–८ घर भई हाल कमलामाई–६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई–५ का ४७ वर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका–४ घर भई हाल कमलामाई–६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन् ।

सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्राप्त भिडियो, फोटो तथा अन्य प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार