सर्लाही – अवैध अनलाइन ‘स्क्यामिङ’ केन्द्रमा काम गराउन म्यानमारसम्म पुर्याइएका ४७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँका सुरक्षासम्बन्धी निकायसँग समन्वय गर्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश पठाएको हो। उद्धार गरिएकाहरु बुधबार नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँ आइपुगेका छन्।
२६ जिल्लाका नागरिक, ४५ पुरुष र २ महिला

दूतावासका अनुसार उद्धार गरिएकामध्ये ४५ पुरुष र २ महिला छन्। उनीहरू १७ देखि ४१ वर्ष उमेर समूहका तथा देशका २६ जिल्लाका बासिन्दा रहेका छन्।
झापाका ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३/३ जना, दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २/२ जना छन्।
यस्तै चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमबाट १/१ जनाको उद्धार गरिएको दूतावासले जनाएको छ।
सामाजिक सञ्जालमार्फत प्रलोभन
पीडितहरू फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल तथा अनलाइन खेलमार्फत चिनजान भएका व्यक्तिबाट ‘उच्च तलब’, ‘काठमाडौँमै बढिया कमाइ’, ‘अफिसको काम’ जस्ता प्रस्तावमा फसाइएका थिए। त्यसपछि भारत वा दुवई हुँदै उनीहरूलाई म्यानमार पुर्याइएको थियो।
म्यानमार पुगेपछि सुरुमा सामान्य व्यवहार गरे पनि पछि जबरजस्ती ‘अनलाइन स्क्यामिङ’ अर्थात् अनलाइन ठगीको काम गर्न बाध्य बनाइएको उनीहरूले बताएका छन्।
लक्ष्य नपुगे शारीरिक मानसिक यातना, बन्धक बनाएर परिवारसँग पैसा माग्ने, अर्को व्यक्तिलाई ल्याए मात्र छोड्नेजस्ता अमानवीय व्यवहार गरिएको उनीहरूको भनाइ छ। यी नेपालीहरू २ देखि १८ महिना सम्म त्यहाँ बन्धककै भूमिकामा बस्न बाध्य बनेका थिए।
दूतावासको निरन्तर उद्धार अभियान
दूतावासले म्यानमार थाइल्यान्ड लाओस सीमामा सञ्चालन हुने स्क्यामिङ केन्द्रहरूबाट नेपाली उद्धार गर्न निरन्तर अभियान चलाइरहेको छ।
चालु आर्थिक वर्षमा मात्रै १४१ जना नेपालीलाई स्वदेश फर्काइएपछि संख्या उल्लेख्य रूपमा बढेको दूतावासको विज्ञप्तिमा उल्लेख छ। गत आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र २०७९/८० मा १५६ जनाको उद्धार गरिएको थियो।
वैदेशिक रोजगारीमा जाँदा सचेत रहन आग्रह
दूतावासले सामाजिक सञ्जाल तथा अपरिचित व्यक्तिको मीठा प्रस्तावमा नफस्न र वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा सरकारी श्रम स्वीकृति लिन आग्रह गरेको छ। थाइल्यान्ड, म्यानमार, लाओस र कम्बोडियाजस्ता मुलुकमा भिजिट भिसामा पुगेर रोजगारी खोज्न हिँड्नु अत्यन्त जोखिमपूर्ण भएको चेतावनी दूतावासले दिएको छ।





