सर्लाही – मधेश प्रदेश सरकार विस्तारका विषयमा आज बसेको सत्ता गठबन्धनको बैठक संक्षिप्त छलफलपछि स्थगित गरिएको छ।
जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव जिल्ला बाहिर रहेका कारण बैठकमा उपस्थित हुन् नसकेपछि बैठक सामान्य छलफलपश्चात् स्थगित भएको हो।

बिहान ११ बजे मधेश भवनमा बोलाइएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयहरूको भागवण्डा तथा रिक्त रहेको सभामुख पदसम्बन्धी विषय मुख्य एजेन्डा रहेका थिए।
नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आजै सरकारी निवासमा पूजाआजासहित प्रवेश गर्ने कार्यक्रम भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ। बैठकमा सत्ता साझेदारी र मन्त्रालय विभाजनबारे प्रारम्भिक स्तरको मात्र छलफल भएको स्रोतले जनाएको छ।
सात दलको समर्थनमा १९ मंसिरमा मुख्यमन्त्री बनेका यादवले २१ मंसिरमा पद तथा गोपनीयताको सपथ लिएपछि कांग्रेसका जंगीलाल राय, जनमतका महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्रिपद प्रदान गरेका थिए।
तर, मन्त्रालयहरूको भागवण्डा फाइनल नहुँदा दुई मन्त्री अझै जिम्मेवारीविहीन अवस्थामा छन्। उता जसपा नेपाल, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी भने अहिलेसम्म सरकारमा सहभागी भइसकेका छैनन्।





