धनुषाको विद्यालयमा अनियमितता: प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ मंसिर २९, सोमबार १६:५७

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका – २ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र तत्कालीन लेखापाल अरुण कुमार कुशियैतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा स्थापना गरिएको आईसीटी ल्याब तथा आर्थिक वर्ष २०७९/८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको आईटी ल्याब र डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रमको रकम दुरुपयोग भएको पाइएको छ ।

सोही आधारमा आज आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले आज जारी गरेको विज्ञप्ति अनुसार आईसीटी ल्याबका लागि खरिद गरिएको ८७ हजार ५०० रुपैयाँ बराबरको प्रोजेक्टर र पछि आईटी ल्याब व्यवस्थापनका नाममा खरिद गरिएको एक करोड २४ लाख ६ सय ५२ रुपैयाँ बराबरको सफ्टवेयर तथा स्टान्ड विद्यालयको अभिलेखमा भेटिएको छैन ।

प्रधानाध्यापक ठाकुर र लेखापाल कुशियैतले आपसी मिलेमतोमा सरकारी सम्पत्ति हिनामिना तथा दुरुपयोग गरेको ठहर गर्दै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकाले उनीहरुलाई जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगो कायम गरी सजायको मागसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार