कोरोनाकालमा बन्द भएको नाका अझै नखोलेको भन्दै आमरण अनशन

२०८२ पुष १, मंगलवार ०८:२४

सर्लाही – कोरोना महामारीका बेला बन्द गरिएको सिमानाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटमा एक व्यक्तिले आमरण अनशन सुरु गरेका छन्।

जिल्लाको परोहा नगरपालिका–९, रामपुर खापस्थित छोटी भन्सार कार्यालय सञ्चालनको माग गर्दै सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशनमा बसेका हुन्।

कोरोना संक्रमण फैलिनु अघि रामपुर खाप नाकाबाट चारपांग्रे सवारी साधन निर्वाध रूपमा आवत जावत हुँदै आएको थियो। तर, संक्रमणको जोखिम देखाउँदै सशस्त्र प्रहरी बलको बीओपी रामपुर खापले उक्त नाका बन्द गरेपछि हालसम्म पुनः सञ्चालनमा ल्याइएको छैन।

नाका बन्द रहँदा सिमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिदका लागि समेत सीमापारी जान समस्या भइरहेको उनीहरूको गुनासो छ। यसअघि करिब एक वर्षअघि पनि स्थानीयवासीले अनशन गरेका थिए।

सम्बन्धित निकायबाट नाका खोल्ने आश्वासन पाएपछि अनशन तोडिएको भए पनि हालसम्म कुनै कार्यान्वयन नभएकाले पुनः आमरण अनशन बस्न बाध्य भएको तजमुल हकले बताएका छन्। उनी हाल खाप छोटी भन्सार कार्यालयको प्रांगणमै अनशनरत छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार