सप्तरीको बलानबिहुलका तत्कालिन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२०८२ पुष ६, आईतवार १९:१३

सर्लाही – सप्तरीको बलानबिहुल गाउँपालिकास्थित नमूना विद्यालय भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोइतसहित पाँच जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाको वडा नम्बर ६, सेहरास्थित जागेश्वर गरहाई जनता माध्यमिक विद्यालयको नमूना भवन निर्माणका लागि ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको हो। निर्माण कम्पनीको नक्कली प्रमाणपत्र प्रयोग गरी गलत ढंगले बोलपत्र मूल्याङ्कन गर्दा राज्यलाई ८ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बराबरको क्षति पुगेको आयोगको ठहर छ।

यस प्रकरणमा तत्कालीन गाउँपालिका अध्यक्ष गोइतसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राइन, लेखापाल कमलेस कुमार साह, तत्कालीन सब इन्जिनियर सन्तोष कुमार रजक तथा ओम गणेशाय कन्स्ट्रक्सन प्रालि र सो कम्पनीका प्रबन्ध निर्देशक राजिब कुमार साहलाई प्रतिवादी बनाइएको छ। उक्त निर्माण कम्पनी सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा दर्ता रहेको छ।

अख्तियारले सबै प्रतिवादीविरुद्ध समान रूपमा ८ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार