मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिकामा लामो समयदेखि जारी कर्मचारी आन्दोलन स्थगित भएको छ। गत साउनदेखि तलब नपाएपछि कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले पुस २ गतेदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए।
गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी साहको उपस्थितिमा हिजो सम्पन्न बैठकमा यही पुस २५ गतेभित्र सबै स्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउने सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको हो।

अध्यक्ष र उपाध्यक्षबीच सहमतिको वातावरण बनेसँगै आर्थिक वर्ष २०८२/८३ को गाउँसभा अन्तर्गत बन्दसत्रको बैठक पनि बोलाइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर थापाका अनुसार चालू आर्थिक वर्षको बजेट पारित गर्ने उद्देश्यले पुस १६ गते बुधबार गाउँसभाको बैठक बस्नेछ।
गाउँसभा सञ्चालन अघि आजै राजस्व परामर्श समितिको बैठक बसेर आवश्यक निर्णय गरिने उनले जानकारी दिए। गाउँसभाको उद्घाटन सत्र असारमै भए पनि बजेट बाँडफाँडमा सहमति नजुट्दा बन्दसत्र हुन सकेको थिएन।
छ महिनासम्म बजेट पारित नहुँदा कर्मचारीले कामकाज ठप्प पारेर आन्दोलन सुरु गरेपछि जनप्रतिनिधिहरु वार्तामा बस्न बाध्य भएका हुन्। यसअघि उपाध्यक्षको असहमतिकै कारण उच्च अदालत जनकपुरले गाउँसभा नगर्न आदेश दिएको थियो। हाल भने उपाध्यक्ष साहसमेत सहमत भएपछि गाउँसभा बोलाइएको हो।





