सर्लाही – सप्तरीको तिरहुत गाउँपालिका क्षेत्रबाट हराएका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले फेला पारेको छ। आइतबारदेखि सम्पर्कविहीन भएका ती बालबालिकालाई सोमबार सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदहको टोलीले फेला पारेको हो।
गस्तीमा रहेको सुरक्षा टोलीले सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा शंकास्पद अवस्थामा देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा बालबालिकाले आफ्नो घर ठेगाना तथा कहाँ जान लागेको हो भन्नेबारे स्पष्ट जानकारी दिन नसकेपछि थप प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

फेला परेका बालबालिकामा तिरहुत गाउँपालिका–३ गोईठी निवासी अन्दाजी ७ वर्षीया श्रिष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षका कृष्ण सरदार रहेका छन्।
प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरू आफैं घरबाट निस्किएर अलपत्र परेका हुन्। यद्यपि कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने आशंका पनि गरिएको छ। नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहबरमा ती बालबालिकालाई सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाइएको छ।





