सर्लाही – नेपाली कांग्रेस केन्द्रीय कार्यालयको स्पष्ट परिपत्रलाई बेवास्ता गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते जारी गरेको परिपत्रमा प्रदेशसभामा बहाल रहेका नेताहरूलाई प्रतिनिधिसभामा उम्मेदवार नबनाउन निर्देशन दिएका थिए।

तर उक्त निर्देशनको पालना नगरी प्रदेशसभा सदस्य मात्र होइन, हालका मुख्यमन्त्री समेत रहेका यादव रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका हुन्।
यादवसँगै राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति तथा मधेस प्रदेशमा कांग्रेसको प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ता, रामेश्वर प्रसाद यादव र सन्तु यादव पनि प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका छन्। सिफारिस सूचीमा रहेका रामेश्वर प्रसाद यादव भने कांग्रेसका क्रियाशील सदस्यसमेत नरहेको बताइएको छ।
यसैगरी, समानुपातिकतर्फ जनजाति, मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुला समूहबाट बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरी क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस गरिएको छ।
राष्ट्रियसभा सदस्यका लागि अल्पसंख्यक तथा खुला समूहबाट चिरञ्जीवी प्रसाद सिंह र दलित समूहबाट नरेन्द्र पासवानलाई सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ। यसघि पनि केन्द्रको मापदण्ड बिपरित सर्लाही क्षेत्र नम्बर ४ बाट हाल मधेश प्रदेश सभा सदस्य वीरन्द्र प्रसाद सिंहको नाम प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।
प्रदेश नेतृत्वको दबाब र बलपूर्वक उनीहरुले आफ्नो नाम उम्मेदवार सूचीमा जबरजस्ती घुसाएको भन्दै पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएको छ। केन्द्रको नियमविपरीत गरिएको यो सिफारिसले कांग्रेसभित्रको अनुशासन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
यो पनि पढ्नुहोस :
– फागुन २१ निर्वाचन: सर्लाही क्षेत्र नं. ४ बाट पार्टीको मापदण्ड बिपरित सिंहको नाम सिफारिस





