मलंगवा – सर्लाहीको बलरा नगरपालिकाले अत्यधिक जाडो कारण नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
केहि दिनदेखी चिसो बढ्दै गएको र त्यसले विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार आजदेखि ११ गतेसम्म विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार चिसोका कारण विशेषगरी बालबालिका, साना विद्यार्थी तथा कमजोर स्वास्थ्य भएका विद्यार्थीहरू बढी जोखिममा पर्न सक्ने भएकाले एहतियाती कदमस्वरूप उक्त निर्णय गरिएको हो।
नगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ भने मौसमको अवस्था हेरी आवश्यक परे थप निर्णय गरिने पनि जनाएको छ।
मंगलबार शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले पनि सर्लाहीसहित मधेशमा अत्यधिक चिसो बढ्दै गएकोले जिल्लाका सबै स्थानीय तहलाई विद्यालयमा तत्काल जाडो बिदा दिन आग्रह गरेको थियो।





