मलंगवा – सर्लाहीमा चार किलो गाँजासहित एक जना पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको ब्रहम्पुरी गाउँपालिका – २, ब्रहम्पुरी चोकस्थित एक घरमा डेरामा बस्दै आईरहेका ४० बर्षिय रामपृत साहलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले घर मालिकलाई खानतलासीसम्बन्धी सूचना पुर्जी दिई स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा रामपृत साह बस्ने कोठाको खानतलासी गरेको थियो।
खानतलासीका क्रममा जेब्रा झोलाभित्र रातो प्लाष्टिकमा र्यापिङ गरी राखिएको अवस्थामा ४ केजी २०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजासहित रामपृत साहलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ।





