मलंगवा – सर्लाहीको बलरामा ४७० विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र र शेभ द चिल्ड्रेनको सहयोग तथा बलरा नगरपालिकाको समन्वयमा नगरपालिका वडा नम्बर ४, ६ र ९ का ४७० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो।
केही दिनयता निरन्तर शीतलहर चलेपछि अत्यधिक चिसोका कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका गरिब तथा अति विपन्न परिवारलाई लक्षित गरी राहतस्वरूप कम्बल वितरण गरिएको नगरपालिकाले जनाएको छ। कम्बल पाएपछि प्रभावित परिवारले राहत महसुस गरेका छन्।

नगर प्रमुख कुश्वाहाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपन्न परिवारको तथ्याङ्क संकलन गरी न्यानो कम्बल वितरणको कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले आगामी दिनमा पनि आवश्यकता अनुसार थप राहतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
अत्यधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, वृद्धवृद्धा तथा बालबालिका बढी जोखिममा रहेका छन्। शीतलहरका कारण तराई क्षेत्रमा हरेक वर्ष कठ्याङ्ग्रिएर अकालमै ज्यान जाने घटना दोहोरिने गरेकाले समयमै राहत वितरण आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।





