एम्बुलेन्समा भेटियो ५ सय २१ किलो गाँजा, दुई जना पक्राउ

२०८२ पुष १४, सोमबार १६:२२

सर्लाही – एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी भइरहेको अवस्थामा मोरङ प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गरेको छ।

घटनामा संलग्न दुई जनालाई पक्राउ गर्न प्रहरीले हवाई फायरसमेत गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले पुस १३ गते राति केराबारी गाउँपालिका –५ मा चेकजाँचका क्रममा प्र१–०६–००१ झ ०००४ नम्बरको सरकारी एम्बुलेन्स शंकास्पद देखिएपछि रोक्न खोज्दा एम्बुलेन्समा सवार व्यक्तिहरू भाग्न प्रयास गरेका थिए।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। एम्बुलेन्सको खानतलासी गर्दा भित्र लुकाइएका १६ वटा ठूला पोका फेला परेका थिए। ती पोकाहरू तौल गर्दा कुल ५ सय २१ किलो गाँजा रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि गाउँपालिका – ६ का निश्चल राई र सागुरीगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बु रहेका छन्। बिरामी बोक्न प्रयोग हुने संवेदनशील सवारी साधन एम्बुलेन्सको दुरुपयोग गरी ठूलो परिमाणमा लागुऔषध ओसारपसार गरिएको भन्दै प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार