मलंगवा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही जिल्लामा २८ वटा नयाँ मतदान केन्द्र थपिएका छन्। यससँगै जिल्लामा कूल मतदान केन्द्रको संख्या ६२८ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालको निर्वाचनमा सर्लाहीका ३१२ मतदानस्थलमा ६०० मतदान केन्द्र रहेका थिए। निर्वाचनको घोषणा पछि सरकारले अध्यादेशमार्फत कानून संशोधन गरी मतदाता नामावली सङ्कलन गरेसँगै २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका हुन्।

नयाँ मतदाता समावेश भएसँगै जिल्लामा अन्तिम मतदाताको संख्या पाँच लाख ११ हजार ६०६ पुगेको छ। तीमध्ये दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला तथा ११ जना अन्य मतदाता रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार मतदाता संख्या बढेका कारण मतदान केन्द्र थप गरिएको हो। मतदानस्थल भने अघिल्लोकै संख्या कायम राखिएको उनले बताए।
निर्वाचन आयोगको मापदण्ड अनुसार सामान्यतया एक हजार मतदाता बराबर एक मतदान केन्द्र निर्धारण गरिन्छ। यस आधारमा पहिले एक मात्र मतदान केन्द्र रहेका केही स्थानमा अब दुई र पहिले दुई मतदान केन्द्र रहेका स्थानमा तीनवटासम्म मतदान केन्द्र राख्न सकिने पौडेलले जानकारी दिए।
यसैबीच, जिल्ला सुरक्षा समितिका अनुसार सर्लाहीका ३१२ मतदानस्थलमध्ये २३ वटा सामान्य, १३१ वटा संवेदनशील र १५८ वटा अतिसंवेदनशील सूचीमा परेका छन्। निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न पालिकामा पुगेर मतदानस्थलको भौतिक अवस्था र सुरक्षा तयारीको निरीक्षण सुरु गरिसकेका छन्।
यस क्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणसँग सुझाव संकलन गर्ने काम भइरहेको छ।





