सर्लाही – ३ बाट बिनोद यादवको उम्मेदवारी चर्चामा

२०८२ पुष २०, आईतवार ०८:४६

मलंगवा – सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि बिनोद यादव उम्मेदवारीको चर्चामा रहेका छन् । मधेश आन्दोलनदेखि नै सक्रिय रहेका यादवले जनताको आवाज संसदसम्म पुर्‍याउने संकल्पका साथ चुनावी तयारी अघि बढाएका छन् ।

बिनोद यादवले आन्दोलनमा उठाइएका मुद्दा अझै पनि सम्बोधन हुन बाँकी रहेको भन्दै संसदीय तहमा ती समस्याको समाधान खोज्ने दाबी गरेका छन्। उनका अनुसार “नेतृत्व होइन, सेवाभाव” जनताको अपेक्षा पूरा गर्ने आधार हुनु पर्ने मुख्य कुरा हो ।

उनी शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । विशेषगरी शिक्षा क्षेत्रमा उनले गरिब तथा दलित बालबालिकालाई निःशुल्क पठन–पाठन गराउँदै आएको योगदानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

यस्तै, युवालाई विदेश पलायन हुन नपर्ने वातावरण सिर्जना गर्ने, किसानलाई मल–बीउ र बजारको सुनिश्चितता, गुणस्तरीय सरकारी विद्यालय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् ।

“म संसदमा पुगे पनि सधैं जनताकै बीचमा रहनेछु,” भन्दै यादवले आफूलाई जनताको सेवक को रूपमा प्रस्तुत गरेका छन् । स्थानीय स्तरमै बसेर जनताको समस्या बुझ्दै आएका उनी उम्मेदवारीको चर्चामा आउन थालेपछि सर्लाही–३ को चुनावी माहोल थप चासोपूर्ण बनेको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई पुरानै राजनीतिक अभ्यास दोहोर्‍याउने कि जनतासँग जोडिएको नयाँ सोचलाई अवसर दिने मोडका रूपमा हेरिएको छ । यस परिस्थितिमा बिनोद यादवको उम्मेदवारीले क्षेत्रीय चुनावमा रोचक प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार