सर्लाही – मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पछिल्लो समय केही स्थानमा देखिएका असंयमित गतिविधि तथा अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्री महतोले मधेश प्रदेश धार्मिक, जातीय र सांस्कृतिक विविधताबीच आपसी सम्मान, सहअस्तित्व र शान्तिको साझा पहिचान बोकेको प्रदेश भएको उल्लेख गर्नुभएको छ।

यस्ता आधारभूत मूल्यमा आँच पुर्याउने कुनै पनि गतिविधिले समाजमा अविश्वास, असहिष्णुता र अशान्तिको वातावरण सिर्जना गर्न सक्ने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।
शान्ति, सुरक्षा र कानुनको शासन कायम राख्नु सरकारको दायित्व भएको उल्लेख गर्दै यसमा सहयोग गर्नु नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ। कुनै पनि शंकास्पद, उत्तेजक वा आपराधिक गतिविधि देखिएमा नजिकको प्रशासनिक वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनसमेत आग्रह गरिएको छ।
मधेश प्रदेश सरकार सामाजिक एकता, सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै मन्त्री महतोले सबै राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चार माध्यम तथा आम नागरिकबाट सकारात्मक, संयमित र जिम्मेवार भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको छ।






