धनुषाको एक आश्रममा अनुयायी र स्थानीयहरुबीच झडप, दर्जनौं घाइते

२०८२ पुष २६, शनिबार १४:२९

सर्लाही – धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ ।

आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् ।

घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ । सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् ।

सोही विषयलाई लिएर स्थानीयवासीहरुको एक समूह आज आश्रम पुग्दा आश्रमका अनुयायीहरुसँग झगडा हुन पुगेको थियो । सोही क्रममा दुवै पक्षका दर्जन बढी व्यक्तिहरु घाइते भएका छन् । केहीको टाउको फुटेको छ भने केही स्थानीयको हात र खुट्टामा चोट लागेको छ ।

अहिले स्थानीयहरुले मुख्य सडक अवरुद्ध गरेका छन् । जस कारणले आवतजावत गर्ने सयौं मालवाहक ट्रक, यात्रुवाहक बस र हलुका सवारी साधनहरु बाटोमै घेरिएका छन् । धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार