सर्लाही – सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ ।
मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने अस्पतालका एक अधिकारीले जानकारी दिए । ‘फिंगर प्रिन्ट टोली, डीएनए टोलीलाई सबैलाई खबर गरेका छौं । सबै टोली आएपछि र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्छौं’ उनले भने, ‘यो सबै तयारी गर्दा २ घण्टा लाग्छ ।’ सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ भने पाइलट शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीसहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।
दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली, दुर्घटनाप्रति दु:ख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ।
नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।”
काठमाडौंबाट पोखरातर्फ जान लागेको सौर्य एयरको जहाज बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
आइसीयूमा सारियो घाइते पाइलटलाई
त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सघन उपचार कक्ष (आइसीयू) मा सारिएको छ। पाइलट शाक्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ। उनलाई आकस्मिक कक्षबाट आइसीयूमा थप उपचारका लागि शारीएको हो। ‘आइसीयूमा सार्नुअघि उहाँ (पाइलट शाक्य)को एमआरआइ र सिटी स्क्यान गरिएको थियो। सो क्रममा मस्तिस्क केही सुन्निएको पाइएको छ,’ ती चिकित्सकले भने, ‘उहाँको टाउकोमा चोट छ भने शरीरका अन्य भागमा पनि चोट छ।’