सर्लाही – पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
रायको हत्या उनकै घरमा काम गर्ने जिल्लाकै कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र रायले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार रामउजैन रायको घरमा काम गर्ने कामदार हुन्, वीरेन्द्रले रामउजैनलाई बिभिन्न प्रलोभन देखाएर हत्या गर्न लगाएको खुलेको हो। रायको गत साउन ७ गते राति जिल्लाको चन्द्रपुर गाउँपालिका १ रतनपुरस्थित आफ्नै घरमा धारिलो हतियार प्रहार हत्या भएको थियो।
पक्राउ परेका दुवैजना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यस्तो छ हत्याको कारण
रामउजैन पूर्वराज्यमन्त्री रायको घरमा काम गर्ने सहयोगी हुन्, रतनपुर मै बस्ने ४५ वर्षीय वीरेन्द्र राय भने पूर्वराज्यमन्त्री रायका छिमेकी हुन्। छिमेकी वीरेन्द्रले नै रामउजैनलाई हत्या गर्न लगाएको खुलेको छ।
प्रहरीका अनुसार पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको छ। उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएका थिए। ‘करिब एक महिनाअघि वीरेन्द्रले रामउजैनमार्फत् पूर्वराज्यमन्त्रीको घर-जग्गाको नक्सा झुक्याई मागेर फोटो र भिडिओ खिचेका थिए।
त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो बताउँदै आएका थिए, ‘घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भने।’ ‘त्यसको बदलामा रामचन्द्रको हत्या गर्नुपर्ने उनले सर्त राखे सोहि अनुसार उनकै उक्साहट र प्रलोभनमा रामउजैनले हत्या गरेको बताइएको छ।
सुरूमा रामउजैनले प्रहरीलाई बाहिरबाट जग्गा सम्बन्धी विवाद मिलाउन भन्दै आएका तीन जनाले हत्या गरेको हुन सक्ने बयान दिएका थिए। तर पोलियोग्राफ टेस्टमा उनको बयान झुटो देखिएको प्रहरीको भनाइ छ। यस्तै, सोधपुछ गर्दै जाँदा उनले वीरेन्द्रको उक्साहटमा आफूले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।
हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा रामउजैनले घटनास्थलबाट करिब २५ मिटर पश्चिम बाँसको झाडीमा फालेका थिए। घटनाको भोलिपल्टै उक्त हतियार रगत र रायको कपाल टाँसिएको अवस्थामा फेला परेको थियो। घटना बखत उनले लगाएको गन्जी च्यातेर तीन टुक्रा पारी बेरेर गोलो बल बनाई बारी छेउको बाटोतर्फ फ्याँलेका थिए।