
सर्लाही – जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा व्रम्हाणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । रातो, पहेंलो रंगको डोरा बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ।
धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ । धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ ।
पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किउृको थियो । उक्त युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहिन भएर जीवनयापन गर्न थाले । यता इन्द्रले उनीहरुसँग पुन अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो ।
देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको काममना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । तामासिक खानपान, रहनसहनले हामी आफैलाई नष्ट गर्दैछ ।
यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो । रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्मअनुशासनको एउटा विधी हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । यो पर्वलाई विषतोडक पर्व समेत भनिन्छ ।
यो पनि पढ्नुहोस :
–रक्षाबन्धन साइत : सर्वसाधारणले समय हेर्नु नपर्ने, सत्तामा बसेकालाई १ः३१ पछि उत्तम