गोडैताका स्वास्थ्य चौकीहरुको अवस्था नाजुक, हात धुन साबुन र पानीको ब्यबस्थासमेत छैन

२०८१ भाद्र २५, मंगलवार १८:०४

राजेन्द्र बिश्वकर्मा, गोडैता – आसमान नेपालले आइतबार सार्वजनिक गरेको सर्लाहीको गोडैताका स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षण अनुसार गोडैताका स्वास्थ्य चौकीहरुको अवस्था नाजुक देखिएको छ। आफैमा स्वास्थ्य संस्था जस्तो संबेदनशितल स्थानमा बिभिन्न समस्याहरु रहेको खुलेको छ।

उक्त सामाजिक परिक्षण सार्वजनिक अनुसार नगरपालिका भित्र रहेका तीन वटा स्वास्थ्य चौकीमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बिभिन्न बिषयबस्तुहरुलाई समाबेश गरेर सामाजिक परिक्षण गरिएको थियो। यसरी सामाजिक परिक्षण गरिएका स्वास्थ्य चौकीहरु सिसौटिया स्वास्थ्य चौकी, बगदह स्वास्थ्य चौकी र रोहवा स्वास्थ्य चौकी रहेका छन्।

स्वास्थ्य र शिक्षामा परिवर्तन गर्ने आफ्नो प्रमुख काम भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु समेत टुलुटुलु यो अवस्था हेरेर बसी रहेका छन्। आइतबार उक्त कार्यक्रममा उपस्थित भएका गोडैता नगरपालिकाका नगर प्रमख देबेन्द्र कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले सामाजिक परिक्षणबाट देखिएका समस्याहरुलाई आफूहरुले सकेसम्म तत्काल समाधान गर्ने आश्वासन भने दिएका छन् तर त्यो काम हुनेमा भने टुंगो छैन। भासनमा गुलियो काममा शून्य भनेको जस्तै भएको छ। प्राय कार्यक्रममा गुलिया र मिठा गफ (भासन) दिने उनीहरु दुवै जनाको काम भने सून्य नै देखिएको छ। खैर यो बिषयमा भने हेर्न बाँकी छ।

यस्तो नाजुक अवस्था छ स्वास्थ्य संस्थाहरुको

सिसौटिया स्वास्थ्य चौकी: उक्त सार्वजनिक परिक्षण अनुसार यस स्वाथ्य चौकीमा आर्थिक बर्ष २०८०/०८१ अनुसार पूर्वप्रसुति जांच सेवा लिने आमाहरुको संख्या २६९ रहेको छ भने यस क्षेत्रमा संस्थागत प्रसुति सेवा लिनेको संख्या ५६७ रहेको छ। यो सेवामा यस क्षेत्रमा कोहि पनि बन्चित नभएको पाईएको छ। यस्तै, खोप सेवा नियमित रुपमा संचालन भएको पाईएको छ। यस स्वास्थ्य चौकीबाट २०८०/८१ को चौमाशिक एवम बार्षिक रुपमा सेवा लिनेको संख्या ३३४२ जना रहेको छ। यस स्वाथ्य चौकीमा १ जना कर्मचारीको अभाव रहेको उल्लेख गरिएको छ। परिक्षण अनुसार स्वास्थ्य चौकीबाट सेवा दिने स्वास्थ्यकर्मीहरुको ब्यबहार राम्रो रहेको पाईएको छ।

यस्तै, सबै फोहरलाई खाल्डोमा राखेर जलाउने गरेको र फोहोर राख्न डस्टबिनको ब्यबस्था भएपनि सहि तरिकाले ( फोहोरको प्रकार छुट्याएर ) राख्ने नगरेको भेटिएको छ। यस्तै स्वास्थ्य चौकीमा अन्य औजारको समेत कमि रहेको पाईएको छ। यस्तै यस स्वाथ्य चौकीमा निशुल्क प्रसुति सेवाको ब्यबस्थाका साथै प्रसुतिका लागि जाने बाटो, भवन अपाङ्ग मैत्री भएपनि अन्य भवनहरु अपाङ्ग मैत्री नभएको पाईएको छ। यस स्वास्थ्य चौकीमा अन्य स्वास्थ्य सेवाको गुणस्तर भने राम्रो देखिएको छ।

बगदह स्वास्थ्य चौकी: उक्त सार्वजनिक परिक्षण अनुसार यस स्वाथ्य चौकीमा आर्थिक बर्ष २०८०/०८१ अनुसार पूर्वप्रसुति जांच सेवा लिने आमाहरुको संख्या ७४ जना मात्र रहेका छन् भने यस क्षेत्रमा संस्थागत प्रसुति सेवा लिनेको संख्या १३१ जना रहेको छ। यस स्वास्थ्य चौकीमा पनि खोपहरु नियमित संचालन भईरहेको तथा स्वास्थ्यकर्मीहरु समयमै नियमित उपस्थित हुने गरेको पाईएको छ। यस स्वास्थ्य चौकीबाट २०८०/८१ को चौमाशिक एवम बार्षिक रुपमा सेवा लिनेको संख्या १९४६ जना रहेको छ। यस स्वास्थ्य चौकीमा प्राय औजार तथा सामाग्री नभएको तथा भएका समाग्रीहरुको सदुपयोगसमेत नभएको पाईएको छ।

यस्तै, सबैभन्दा लज्जास्पद कुरा भनेको यस स्वास्थ्य चौकीमा हात धुन साबुनसमेत नराख्ने गरेको पाईएको छ। यस स्वास्थ्य चौकीमा महिला र पुरुषका लागि एउटै सौचालय रहेको त्यसमा पनि सौचालय सफा नरहेको भेटिएको छ। फोहोरहरुको सहि ब्यबस्थापन हुने गरेको पाईएको छ। प्रसुति सेवा प्रदानका लागि गोपनियता कायम नभएको पाईएको छ त्यसको प्रमुख कारण उक्त स्वास्थ्य चौकीमा कोठाको अभाव रहेको बताईएको छ।साथै, यस स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन हुन् नसकेको, अल्ट्रासाउण्डको व्यवस्था नभएको, स्तनपानको ब्यबस्था नभएकोलगायतका समस्याहरु रहेका छन्।

रोहवा स्वास्थ्य चौकी: उक्त सार्वजनिक परिक्षण अनुसार यी तिन वटा स्वास्थ्य चौकिहरुमध्ये सबै भन्दा नाजुक अवस्था रहेको स्वास्थ्य चौकीको रुपमा यो स्वास्थ्य चौकी निक्लेको छ। अन्यभन्दा यो स्वास्थ्य कार्यालयमा झन् बढी समस्याहरु देखिएका छन्। यस स्वाथ्य चौकीमा आर्थिक बर्ष २०८०/०८१ अनुसार पूर्वप्रसुति जांच सेवा लिने आमाहरुको संख्या ५५ जना रहेको छ भने यस क्षेत्रमा संस्थागत प्रसुति सेवा लिनेको संख्या १३१ जना रहेको छ। अन्य स्वास्थ्य चौकीमा जस्तै यस स्वास्थ्य चौकीमा पनि खोपहरु नियमित संचालन भईरहेको तथा स्वास्थ्यकर्मीहरु समयमै नियमित उपस्थित हुने गरेको पाईएको छ। यस स्वास्थ्य चौकीबाट २०८०/८१ को चौमाशिक एवम बार्षिक रुपमा सेवा लिनेको संख्या २१०५ जना रहेको छ। यस स्वास्थ्य चौकीमा भने हात धुनको लागि साबुन पानिको व्यवस्था गरेको पाईएको छ।

यस्तै, यस स्वास्थ्य संस्थामा पनि लज्जास्पद कुरा भने यहाँ सौचालय सबैभन्दा फोहोर रहेको पाईएको छ। यति मात्र नभएर सौचालयमा पनि पुरुष र महिलाको छुट्टा छुट्टै सौचालय नभएको पाईएको छ। साथै, यहाँ सेवाग्राहीका लागि पिउने पानीको ब्यबस्था नगरेको र उक्त काम गर्नुपर्ने उल्लेख गरिएको छ। अझ लज्जाको बिषय यस स्वास्थ्य चौकीमा फोहोरलाई लथालिङ्ग पारिएको छ। फोहोरको सहि तरिकाले ब्यबथापन नगरेर फोहोरलाई स्वास्थ्य कार्यालयको पछाडी थुपारेर यतिकै छोडेको भेटिएको छ। फोहोर राख्न डस्टबिन भएतापनि सदुपयोग हुन् सकेको छैन। यहाँ यस्तै अनेक समस्या संगै ल्याब सेवा संचालन हुन् नसकेको, प्रसुति कक्षमा पंखाको साथै स्तनपान कक्षको ब्यबस्था नभएकोलगायतका समस्याहरु रहेका छन्।

आईतबार सम्पन्न उक्त कार्यक्रमा उपस्थित भएका नगरपालिकाका नगरप्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारीहरु, नगरपालिका भित्रका सामाजिक परिक्षण भएका वडाका वडा अध्यक्षहरु, युएनएफपीएका कर्मचारी, आसमान नेपालका कर्मचारी, आमा समूहका प्रतिनिधिहरु, स्थानिय युवा, युवतीहरुले यी समस्याका बिषयमा छलफल समेत गरेका थिए। साथै अब उक्त समस्याहरुलाई कसरि समाधान गर्ने जस्ता बिषय बस्तुहरु समेत उक्त सामाजिक परिक्षणको अन्त्यमा सुझाव दिइएको छ।

यो पनि पढ्नुहोस : 

– गोडैतामा स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परीक्षणको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

सम्बन्धित समाचार